मर्चवार । मर्चवार लिफ्ट सिँचाईको ३१औँ वार्षिक साधारण सभाको अवसरमा रुपन्देही क्षेत्र नं. ४ का पूर्व प्रतिनिधि सभा सदस्य प्रमोद कुमार यादवले किसानहरू प्रति आफ्नो आत्मीयता र प्रतिबद्धता झल्किनेगरी कुदालो वितरण गरेका छन् । सभाका प्रमुख अतिथि समेत रहेका यादवले आफ्नो व्यक्तिगत लगानीबाट मर्चवार लिफ्ट सिँचाईमा पर्ने १ सय ३१ ब्लकका अध्यक्षहरूलाई सिँचाइ सुधारको उद्देश्यसहित कुदालो वितरण गर्दै किसानमैत्री अभियानलाई अघि बढाएको बताए ।
यसै कार्यक्रमको अवसरमा उनले नहर सफाइलाई प्रभावकारी बनाउन “इन्धन खर्च आयोजनाले मात्र बेहोर्ने गरी” व्यक्तिगत जेसीभी सहयोग गर्ने प्रतिवद्धता जनाउँदै किसानहरूको मेहनतलाई सहज बनाउन आफू सदैव तयार रहेको उल्लेख गरे । कुदालो वितरणपछि कार्यक्रमलाई सम्बोधन गर्दै यादवले भने ‘जीर्ण तथा फोहोर बनेका नहरहरू सफाइ गर्न म आफ्नो व्यक्तिगत जेसीभी निःशुल्क उपलब्ध गराउँछु । समितिले इन्धन खर्च बेहोरेर सफाइको काम सहजै अगाडि बढाउन सक्छ ।’
उनका अनुसार, मुख्य नहरबाट विभिन्न ब्लकमा जाने कुलो–नालाहरू सफा गर्ने तथा टुटफुट मर्मतका लागि पनि ब्लक अध्यक्षहरूलाई कुदालो हस्तान्तरण गरिएको हो ।
यसैगरी, मर्चवार लिफ्ट सिँचाई आयोजनाले तयार गरेको नयाँ डिपिआर अनुसार संरचना निर्माणका लागि आवश्यक समन्वय र सहयोग गर्न आफू प्रतिबद्ध रहेको बताउँदै यादवले आगामी दिनमा पनि किसान तथा सिँचाई सुधारमा साथ–सहयोग जारी रहने विश्वास व्यक्त गरे ।
Great work