मर्चवार २३ माघ÷रुपन्देहीको कोटहीमाई गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा कामकाज गर्न झबीलाल भट्टराई थप जिम्मेवारी पाइ आउनु भएको छ । हाल मर्चवारी गाउँपालिकामा कार्यरत रहेका भट्टराईलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बिगत २ महिनादेखि प्रमुख प्रशासकीय अधिकृत बिहीन रहेको कोटहीमाई गाउँपालिकमा थप जिम्मेवारी दिएपछि सोमबारदेखि कार्यभार सम्हालेका हुन् ।
माघ १९ गते मन्त्रालयको निर्णय अनुसार आर्को प्रमुख प्रशासकीयको ब्यवस्था नभएसम्म मर्चवारी र कोटहीमाई दुबै गाउँपालिकाको काम काज गर्ने जिम्मेवारी तोकिएको हो । सोमबार कोटहीमाई गाउँपालिकामा गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत भट्टराईले नेपाल सरकारका कर्मचारी भएपछि दिएको जिम्मेवारी पुरा गर्न सबै कर्मचारीको प्रमुख दायित्व रहेको बताए । कोटहीमाई गाउँपालिकामा लामो समय सम्म प्रमुख प्रशासकीय अधिकृत नआएकोले विकास निर्माण संगै कर्मचारी लगायतका पाउने तलब र सेवा सुबिधा प्रभावित भएकोलाई मध्य नजर गरी काम गर्न आएको उनले बताए । नेपालको कानुन भित्र रही देशको हितमा काम गर्ने बताए ।
प्रमुख प्रशासकीयको स्वागत कार्यक्रमको अध्यक्षता समेत गरेको कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले कर्मचारी र जनप्रतिनिधिको सकारात्मक सम्बनधले मात्र पालिकाको विकास हुने बताए । उनले भने ‘कर्मचारी कर्मचारी भएर काम गर्नुपर्दछ र जनप्रतिनिधिले जनप्रतिनिधि भएर काम गर्नुपर्दछ । सबैले आफ्नो जिम्मेवारी, दायित्व र अधिकार बुझेर काम गरिदिए कोटहीमाईमा विकास हुन समय लाग्दैन ।’ केही समयदेखि विभिन्न सेवाहरु अवरुद्ध रहेकोलाई मध्य नजर गरी कामको गतिलाई तिब्र राख्न प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई अग्रह गरेका थिए ।
गाउँपालिका वास संयोजक अजय सिंह क्षेत्रीको संचालनमा सम्पन्न उक्त कार्यक्रममा कम्पयुटर अपरेटर सनोज चौधरीले स्वागत मनतब्य राखेका थिए ।