मर्चवार । कोटहीमाई गाउँपालिकाले पालिका भित्रका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई उपेक्षित तथा उष्णप्रदेशीय रोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन गरेको छ । समुदायमा फैलिएका उष्णप्रदेशीय रोगको पहिचान, समाजमा सचेतना फैलाउने उपाय, उपचार र सावधानीका विषयमा प्रशिक्षण प्रदान गरिएको इन्द्रेणी ग्रामीण केन्द्रकी सुपरभाइजर कबिता पाण्डेयले बताउनुभयो ।
नागरिकहरुसँग प्रत्यक्ष समन्वय गर्दै निःस्वार्थ भावले काम गरिरहेकी स्वयंसेविकाहरुलाई उक्त रोगबारे सचेतना र जानकारी दिन विभिन्न तथ्यांक तथा चित्रसहित प्रशिक्षण गरिएको पाण्डेयले जानकारी दिनुभयो ।
कार्यक्रममा बोल्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले रोगबारे खुलस्त जानकारी दिई समयमा उपचार गराउन सबैलाई सचेत रहन आग्रह गर्नुभयो । सकारात्मक भावनाले समाजको लागि कार्य गर्दै आएकी स्वयंसेविकाहरुलाई आगामी आर्थिक वर्षमा साइकल प्रदान गर्ने पालिकाको प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “समाजमा फैलिरहेको रोगको संक्रमण न्यूनीकरणका लागि स्वयंसेविका र पालिकाले मिलेर काम गर्नु नै हाम्रो जिम्मेवारी हो । स्वयंसेविकाहरुले गरेको कार्यप्रति पालिका सन्तुष्ट रहेको छ र यसैगरी सकारात्मक भावनाका साथ अगाडि बढ्नुपर्नेछ।”
उष्णप्रदेशीय रोग न्यूनिकरणका लागि सञ्चालन भइरहेका कार्यक्रमहरु उपलब्धिमूलक रहेको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रले बताउनुभयो । कुष्टरोग, हात्तीपाइले जस्ता रोगले ग्रसित व्यक्तिलाई अवहेलना नगरी सहयोगको भावनासाथ उपचारमा खटिनुपर्ने उहाँले जोड दिनुभयो ।
दुई दिनसम्म सञ्चालन हुने उक्त कार्यक्रममा किरण श्रेष्ठले प्रशिक्षण प्रदान गर्नुभएको थियो । कार्यक्रममा उदघाटन सत्रको संचालन कोटहीमाई गाउँपालिका समाजिक विकास शाखा प्रमुख अजय सिंहले गर्नुभएको थियो ।