मर्चवार । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का उम्मेदवार आशुतोष मिश्रले मतदातासँग प्रत्यक्ष भेटघाटलाई तीव्र बनाउनु भएको छ । माघ ६ गते नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दर्ता गरेपछि उहाँ मतदातासँग संवाद, सुझाव संकलन तथा क्षेत्रको आवश्यकता बुझ्न सक्रिय रूपमा लागिरहनु भएको उहाँको सचिवालयले जनाएको छ ।
मतदातासँग आफ्नो राजनीतिक दृष्टिकोण र क्षेत्रको समग्र विकास लक्ष्यबारे धारणा राख्ने क्रममा पार्टीका वरिष्ठ नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाण पनि शुक्रबार मर्चवारीदेवी मन्दिरमा दर्शनसहित मतदातासँग भेटघाटमा सक्रिय रहनु भएको थियो ।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि तथा कांग्रेस नेतृत्वको सरकारले मर्चवार क्षेत्रमा गरेका विकास कार्यहरूको चर्चा गर्दै, मर्चवार मात्र नभई समग्र देशका लागि पार्टीको नीति, कार्यक्रम र लक्ष्यबारे जानकारी गराउने उद्देश्यले विभिन्न टोलमा घरदैलो अभियानसमेत सञ्चालन गरिएको छ ।
शुक्रबार बिहान करिब ९ बजे मर्चवारीदेवी मन्दिरमा दर्शन गरेपछि नेपाली कांग्रेसका नेता तथा कार्यकर्तासँग भेटघाट गर्दै उम्मेदवार मिश्रसहित पार्टीका क्षेत्रीय समिति, स्थानीय नेता तथा कार्यकर्ताहरू विभिन्न टोल–टोलमा पुगेर मतदातासँग प्रत्यक्ष संवादमा सहभागी भएका थिए ।