मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का लागि निर्वाचन अधिकृतको कार्यालय उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच कोटहीमाई गाउँपालिका–५ मझगावाँस्थित बहुउद्देश्यीय सभा हलमा उक्त कार्यालयको उद्घाटन गरिएको हो ।
कार्यालयको उद्घाटन गर्दै जिल्ला रुपन्देहीका मुख्य निर्वाचन अधिकृत अशोक कुमार बस्नेतले निर्वाचनको कार्यतालिका सार्वजनिक गर्नुभएको छ । निर्वाचन अधिकृत बस्नेतले सार्वजनिक गर्नुभएको कार्यतालिकाअनुसार माघ ६ गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र सोही दिन मनोनयन पत्र दर्ता भएका उम्मेदवारको सूची प्रकाशन गरिनेछ । त्यसैगरी माघ ७ गते उम्मेदवारको विरोध तथा उजुरी दिने, माघ ७ र ८ गते परेको उजुरीमाथि जाँचबुझ गरी निर्णय गर्ने, माघ ८ गते उम्मेदवारको नाम प्रकाशन गर्ने, माघ ९ गते उम्मेदवारको नामावली फिर्ता लिने, उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने सोही दिन निर्वाचन चिन्ह प्रदान गरिने र फागुन २१ गते मतदान हुने कार्यतालिका रहेको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै मुख्य निर्वाचन अधिकृत बस्नेतले भन्नुभयो, “निर्वाचन यहाँका दलहरूको हो । निर्वाचन सफल बनाउन उहाँहरूले सकारात्मक भूमिका निर्वाह गर्नुपर्ने हुन्छ । शान्तिपूर्ण र स्वतन्त्र रूपमा निर्वाचन सम्पन्न गराउन हामी सबै खटिएका छौँ । निष्पक्ष, शान्तिपूर्ण र समयमै निर्वाचन सम्पन्न गराउन सबैको सहयोग अपेक्षा गर्दछु ।”
कार्यक्रमलाई सम्बोधन गर्दै जिल्ला प्रशासन कार्यालय रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले शान्ति सुरक्षाका लागि सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो । निर्वाचन शान्तिपूर्ण र निष्पक्ष तरिकाले सम्पन्न गराउनु हरेक निकायको साझा दायित्व रहेको उहाँको भनाइ थियो ।
उद्घाटन कार्यक्रममा नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारीलगायतको उपस्थिति रहेको थियो ।