मर्चवार । मादिका लोनियाको कान्छी छोरीको २०८२ वैशाख ५ गते विवाह हुँदैछ । छोरीको विवाहमा लाग्ने खर्चका लागि वर्षौदेखि सहकारीमा गरेको बचत रकम समयमा फिर्ता नपाउने देखिएपछि उनी चिन्तित् छन् ।
सम्मरीमाई गाउँपालिका–६ सेमरहवा बस्ने लोनिया विवाहको लागि आवश्यक विभिन्न सामानहरु जोहो गर्न दौडधुपमा छन् । कृषि पेशामा संलग्न उनको परिवार घरखर्चबाट काटेर दैनिक ५–१० रुपैयाँ जम्मा गरी श्री गौतमबुद्ध स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा जम्मा गरेको करिब ६ लाख रुपैयाँ आवश्यक परेको खण्डमा फिर्ता नआउने देखिएपछि बचत फिर्ता नहुने चिन्ता लागेको उनले बताए ।
उनले भने–‘छोरीको विवाह प्रयोजनका लागि मैले रकम जम्मा गरेको थिएँ । तर, अहिले सहकारीमा सञ्चालक समिति र कर्मचारीबीचको विवादले सहकारी बन्द हुँदा विवाहको समयसम्म मेरो रकम आउने कुनै आशा छैन । बचत रकम फिर्ता लिन अध्यक्षसँग जाँदा सहकारीको विवाद अन्त्य नभएसम्म कुनै विकल्प नरहेको सुनाउनुहुन्छ ।’ छोरीको विवाह खर्चका लागि आफन्तसँग ऋण खोज्न जाँदा अहिले आर्थिक मन्दीले गर्दा कतै ऋण समेत नपाइएको उनको पीडा छ ।
सम्मरीमाई–६ बस्ने नन्दलाल चौहानको पनि समस्या उस्तै छ । वैशाखमा हुने छोरीको विवाहको लागि उक्त स्वावलम्बनमा जम्मा गरेको बचत रकम समयमा नआउँदा उनी चिन्तित छन् । उनको बुवा बुद्धु चौहान समेतले पेन्सनवापत पाएको रकम सहकारीमा ५० हजार रुपैयाँ बचत गरेको उनले बताए । बुवा र छोराले जम्मा गरेको दुवै बचत रकम छोरीको विवाहमा खर्च गर्ने सोचमा उनी थिए । उनले भने–‘बचत फिर्ताको लागि जाँदा सहकारीमा ताला लागेको देखिन्छ । अध्यक्षसँग सोधपुछ गर्दा ‘सहकारी विवादमा रहेको छ, कर्मचारीहरु हिनामिना गरेका छन् । विवाद टुंगिएपछि मात्र बचत रकम फिर्ता हुन्छ’ भन्ने जवाफ आउँछ । ’
उनले थपे–‘जम्मा गरेको रकम आवश्यक परेको हरेक खण्डमा पाउन सकिने विश्वासले नजिकको स्वावलम्बन राखको थिएँ । तर, सहकारीबाट सजिलै रकम निकाल्न सक्ने विश्वास रहेन् ।’
सम्मरीमाई–६ असुरैनाको छोटेलाल लोहारले वैशाख ८ गते छोरीको विवाहको लागि सहकारीमा बचत गरेको रकम समयमा नपाइने भएपछि सहकारीप्रति विश्वास गुमेको बताए । ‘आफ्नो रकम हँुदा पनि अरुसँग ऋण खोज्नुपरेको छ । सञ्चालक समिति र कर्मचारीको विवादले शेयर सदस्य तथा बचतकर्ताहरुले मर्कामा परेका छन्,’ उनले भने ।
सोही स्वावलम्बनका शेयर सदस्य राजकुमार केवटले बचत रकमबाट मासिक रुपमा नियमित खाने औषधी खरिद गर्छन । तर, अहिले सहकारी विवादमा परेपछि आफूले बचत गरेको रकममा आफ्नै अधिकार नदेखिएको बताए । उनले १ लाख ५० हजार बचत गरेको उक्त स्वावलम्बनबाट मासिक रुपमा निकाली नियमित औषधी उपचारमा खर्च गर्थे । तर, सञ्चालक समिति तथा कर्मचारीको विवादले शेयर सदस्य मर्कामा परेको उनले गुनासो गरे ।
विनोद वर्माले फलफूलको पसलबाट दैनिक रुपमा ५ सय रुपैयाँ गरेको बचत एक वर्षमा पाउने म्याद सकिन लागेको छ । उक्त म्याद पूरा हुन लागेसँगै उनको छोरीको विवाह पनि नजिकिदै छ । सहकारीको विवादले आफ्नै रकम पाउने चिन्ता लागेको उनी सुनाउँछन् ।
यी त केही उदाहरण मात्र हुन् । यस्ता कति बचतकर्ताहरु दैनिक सहकारीको कार्यालय तथा संस्थाका अध्यक्षको घरमा पुगेर फर्कनुपर्ने बाध्यता छ । २४ सै घण्टा आकस्मिक ऋण उपलब्ध रहने नारा लगाउने सहकारीमा आफ्नै बचत रकम पाउन दौडधुपसँगै आपतविपतको बेला काम नलाग्ने भएको छ । बैंकबाट भन्दा सहकारी नजिक र विश्वासिलो मानिएको मर्चवार क्षेत्रमा यस्ता घटनाहरुले सहकारीतर्फ शेयर सदस्यसहित आम नागरिकमा विश्वास हराउँदै गएको स्थानीय बताउँछन् ।
फागुन २६ गते स्वावलम्बनका सञ्चालक समितिले उक्त कार्यालयमा रहेको व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको थियो । निलम्बनपछि उक्त विवाद अहिले अदालतमा गइसकेकोले हालसम्म उक्त स्वावलम्बनको सम्पूर्ण सेवाहरु बन्द छ ।
बचत रकम फिर्ता लिन, ऋण लिन, ऋण सावाँ तथा ब्याज तिर्न आउने शेयर सदस्यहरुले कार्यालयबाट त्यत्तिकै फर्किनुपर्ने बाध्यता छ ।
संस्थाका अध्यक्ष दीपचन्द्र मौर्यले सहकारीका व्यवस्थापक र कार्यालय सहायकलाई निलम्बन गरेको अदालतको निर्णय यथावत राख्न अदालतको आदेशले सहकारी बन्द अवस्था रहेको बताए । उनले भने–‘म पनि सहकारीको शेयर सदस्य हो । अरु जस्तै मालाई पनि चिन्ता छ । तर, अदालतको अवहेलना पनि गर्न सकिन्न । आउने २६ गते अदालतमा तारेख छ । तारेखपछि मात्र सहकारी सञ्चालनको बाटो खुल्ने आशा रहेको छ ।’
सञ्चालक समितिले सहकारीमा रहेको विवादलाई छिटो समाधान गरी पूर्ण रुपले नियमित सञ्चालन गर्ने अध्यक्ष मौर्यले बताए । आर्थिक कारोबारमा कर्मचारी र सञ्चालक समितिको संयुक्त दस्तखत चल्ने भएकोले बचत रकम फिर्ता गर्न कुनै बाटो नदेखिएको उनले बताए ।