अवधेश विश्वकर्मा
मर्चवार, २८ पुस÷ श्री मर्चवारीदेवी स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । शुक्रवार एक कार्यक्रमको आयोजना कोटाहिमाई गाउँपालिका वडा नं ७ श्रीराम टोल स्थित संस्थाको प्राङ्गणमा उक्त सभा संपन्न भएको हो ।
संस्थाको वार्षिक लेखा प्रतिवेदन प्रस्तुत गर्दै संस्थाका ब्यवस्थापक विष्णु प्रसाद सहानीले आर्थिक वर्ष २०७९÷०८० मा कुल १२ करोड ४१ लाख ५५ हजार २ सय ३८ रुपैयाँ ५९ पैसाको कारोबार गरी २८ लाख ४० हजार ९ सय ४३ रुपैयाँ ४२ पैसा नाफा गर्न सफल भएकोे बताए । २ सय ७८ जना महिला तथा २ सय ८३ जना पुरुष गरी जम्मा ५११ जना शेयर सदस्य रहेको जानकारी गराएका थिए । आर्थिक वर्ष २०७९÷०८० मा संस्था कुल ४ करोड ८५ लाख २१ हजार १ सय ४४ रुपैयाँ बचत गर्न सफल भई संस्थाले कुल ७ करोड ३२ लाख ८ हजार ३ सय ७२ रुपैयाँ ८० पैसा लगानी गरेको व्यवस्थापक साहनीले जानकरी गराएका थिए ।
संस्थाको २४ औं वार्षिक साधारण सभा तथा अधिवेशनले नयाँ ९ सदस्यीय कार्यसमिति चयन गरेको छ । उक्त समितिमा संस्थाले पुनः श्यामसुन्दर यादवलाई सर्व सम्मतले निर्वाचित गरेको छ । निर्वाचित कार्यसमितिको उपाध्यक्षमा निर्मला प्रजापति, सचिवमा रामवृक्ष नाउँ, कोषाध्यक्षमा कन्लन कुर्मी रहेका छन् । सदस्यमा रामअवध मिश्रा, ढल ढल विश्वकर्मा, मुटुरा गुप्ता, कैलासी यादव, इन्द्र कमल यादव रहेका छन् । यस्तै लेखा सुपरिवेक्षण समिति तर्फ लेखा संयोजकमा शुसिल कुमार दुबे तथा सदस्यहरुमा रामकृपाल वरुण, संतीरा देवी कुर्मी चयन भएकी छन् ।
कार्यक्रममा नव निर्वाचित संस्थाका अध्यक्ष श्यामसुन्दर यादवले एक पटक पुनः संस्थाको अध्यक्षको रुममा जिम्मेदारी दिएकोमा सम्पूर्ण शेयर सदस्यहरूलाई धन्यबाद व्यक्त गरेका थिए । साथै संस्थालाई निष्पक्ष तथा इमान्दार भई संस्थालाई अगाडि बढाउने सपथ लिएका थिए ।
सभामा बोल्दै जिल्ला समन्वय समितिका उपसभापति रामकृपाल वरुणले शीत भण्डार (कोल्ड स्टोर) निर्माण गर्नका लागि जिल्ला समन्वय समितिको तर्फबाट सहयोग गर्ने जानकारी गराएका थिए । ‘कुनै पनि संघसंस्था वा क्षेत्रको विकास तब सम्म हुँदैन जब जबसम्म हामी निगरानी गर्दैनौं’ उनले भने ।
साधारणसभालाई सम्बोधन गर्दै बिशिष्ट अतिथि कोटहिमाई गाउँपालिका वडा नं ७ का वडाध्यक्ष पवन कुमार यादवले संस्थाको भवन निर्माणका लागि वडाबाट सहयोग गर्ने जानकारी गराएका थिए । उनले स्वावलम्बन संस्था आफ्नो नजिकको संस्था रहेकोले यसमा आवद्ध भई लाभ लिन आग्रह गरेका थिए ।
जिल्ला बचत संघ रुपन्देहीका संचालक सदस्य तथा श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लि. का व्यवस्थापक अशोक तिवारीले शीत भण्डारबारे उठेको प्रश्नको जवाफ दिँदै उनले बजेट फ्रिज भएकोले शीत भण्डार निर्माण रोकिएको बताए । उनले गत वर्ष मा कोल्ड स्टोर निर्माण का लागि सम्मरिमाई गाउँपालिकामा १ करोड ५० लाख रुपैयाँ को बजेट आएको थियो तर गाउँपालिकाबाट व्यवस्थापन नहुँदा बजेट फ्रिज भएको गुनासो गरेका थिए । आफूहरुले शीत भण्डार निर्माणका लागि प्रयास गरेका थिए तर सरकारबाट नै समस्या भएकाले निर्माण कार्य नभएको तिवारीले बताएका थिए ।
संस्थाको २४ औं वार्षिक साधारणसभामा उपस्थित समुर्ण शेयर सदस्य, तथा बिशिष्ट अतिथिहरुलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो । साथै संस्थामा बचत गर्ने सर्वोत्कृष्ट बचतकर्ता, ज्येष्ठ शेयर सदस्य, बालबचतकर्ता लागि पुरस्कार तथा सममान वितरण गरिएको थियो ।
कार्यक्रममा जनपरतिनिधी, समाजसेवी, प्रहरी, शिक्षक, बुद्धजीवी, विभिन्न स्वावलम्बन सहकारीका अध्यक्ष, व्यवस्थापक, कर्मचारी, संस्थाका शेयर सदस्य लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका लेखा सुपरिवेक्षण समिति संयोजक शुसिल कुमार दुबेले सञ्चालन गरेका थिए ।