मर्चवार । फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि रुपन्देही निर्वाचन क्षेत्र नं. ४ को निर्वाचन कार्यालयले उम्मेदवारहरूलाई निर्वाचन चिन्ह वितरण गरेको छ ।
निर्वाचन कार्यतालिका अनुसार आज माघ ९ गते अन्तिम नामावली प्रकाशन गरी उम्मेदवारहरूलाई निर्वाचन चिन्ह प्रदान गरिएको रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का निर्वाचन अधिकृत टोप बहादुर विष्टले जानकारी दिनुभयो ।
निर्वाचन अधिकृत विष्टका अनुसार राजनीतिक दलका उम्मेदवारहरूलाई पूर्वनिर्धारित निर्वाचन चिन्ह प्रदान गरिएको हो भने स्वतन्त्र उम्मेदवारहरूलाई उपलब्ध चिन्हहरूमध्ये स्वेच्छाअनुसार चिन्ह छनोट गर्न दिइएको थियो ।
माघ ६ गते उम्मेदवारी दर्ता गराएका उम्मेदवारहरूबारे आवश्यक छानबिन तथा प्रक्रिया पूरा गरी शुक्रबार दिउँसो ३ बजे अन्तिम नामावली प्रकाशित गरिएको र त्यसपछि उम्मेदवार तथा उनीहरूका प्रतिनिधिहरूको उपस्थितिमा निर्वाचन चिन्ह वितरण गरिएको उहाँले जानकारी दिनुभयो ।
उक्त निर्वाचन क्षेत्रमा १५ वटा राजनीतिक दल र ७ जना स्वतन्त्र गरी कुल २२ जनाले उम्मेदवारी दर्ता गराएका थिए । सबै उम्मेदवारी सदर भई निर्वाचन चिन्ह प्रदान गरिएको निर्वाचन अधिकृत विष्टले जानकारी दिनुभएको छ ।