‘पश्चिम मधेश दर्पण’ पुस्तक गृहमन्त्री पाण्डेयद्वारा विमोचन

Njn Khanal 6+ समाचार ( )
११ कार्तिक २०८०, शनिबार

मर्चवार न्यूज

भैरहवा, ११ कार्तिक / सञ्चारकर्मी भोला बानियाद्वारा लिखित पुस्तक ‘पश्चिम मधेश दर्पण’ लुम्बिनी प्रदेश सरकारका गृहमन्त्री सन्तोष कुमार पाण्डेयले बिमोचन गरेका छन् । शनीबार भैरहवामा एक कार्यक्रमका बिच गृहमन्त्री पाण्ेडयेले उक्त पुस्तकको बिमोचन गरेका हुन् ।

पुस्तकलाई बिमोचन गर्दै २१ औं शताब्दीमा पनि अधिकार माग्नुपर्ने अवस्था भएको बताएका छन् । उनले युरोप, अमेरिका लगायत देशहरुले विकासका लागि लडाई गर्दा र पूर्ण रुपमा विकसित राष्ट्र बनाउन खोज्दा नेपालमा अधिकार माग्नुपर्ने अवस्था हुनु दुःखद रहेको बताए । उनले अधिकारबारे निरन्तर कुरा भइरहेको बताए । उनले भने, ‘जागरण अभियान आम जनतासम्म पुर्याउनुपर्छ । मर्चवारको अन्तिम गाउँको अन्तिम घरसम्म पुर्याउन सक्नुपर्छ । अनि हामीले मागेको अधिकार आगामी दिनमा प्राप्त गर्न सक्छौं । तर, हामी छिटो आतिन्छौं । अधिकार प्राप्तीको अभियान हामी सबैको अभियान हो । कुनै जाती विशेष मात्रको होइन ।’

लुम्बिनी प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री पाण्डेयले भारतमा महात्मा गान्धीले वर्षौसम्म आन्दोलन गर्नुभएको र त्यसपछि भारत स्वतन्त्र भएको उल्लेख गरे । उनले सबैको अधिकार प्राप्ती हुने विश्वास व्यक्त गरे । अधिकार प्राप्त भए र विकास भए सबैको लागि हुने उनको भनाइ छ । उनले भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट विश्वमा शान्तिको सन्देश फैलिएकोले यो पवित्र भूमि महत्वपूर्ण रहेको बताए ।

त्यस्तै स्वाधिन मधेश जनअभियानका संयोजक कैलाश महतोले निर्वाचन प्रणाली परिवर्तन आवश्यक रहेको बताए । उनले समतामूलक समाजको आवश्यकता रहेकोमा जोड दिए ।

जनमत पार्टी लुम्बिनी प्रदेशका इन्चार्ज राजेन्द्र गुप्ताले ‘पश्चिम मधेश दर्पण’ ले स्पष्ट रुपमा लिखित दस्तावेजमार्फत मुलुकमा रहेको विभेदको उजागर गरेको बताए । उनले राम्रो ठाउँमा राम्रो व्यक्तिलाई पुर्याउन आग्रह गरे । राष्ट्रिय मधेशी वैश्य सेवा समितिका केन्द्रीय उपाध्यक्ष श्रीराम गुप्ताले विभिन्न ठाउँमा विभेद रहेको बताए । 

‘पश्चिम मधेश दर्पण’ पुस्तकका लेखक भोला बानियाले पुस्तकले सबल रुपमा साँस्कृतिक अनुसन्धानलाई निजी क्षेत्रबाट सोधखोज गर्ने काम गरेको बताए । 

राष्ट्रिय मधेशी वैश्य सेवा समितिका केन्द्रीय उपाध्यक्ष तथा कान्दु वैश्य सेवा समिति रुपन्देहीका निवर्तमान अध्यक्ष श्रीराम गुप्ताको अध्यक्षता, कान्दु वैश्य सेवा समिति रुपन्देहीका कार्यसमिति सदस्य नर्वेदश्वर प्रभाकर गुप्ताको स्वागत तथा परमशिला बनियाको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा उपप्राध्यापक त्रिभुवन बरईले ‘पश्चिम मधेश दर्पण’ पुस्तकको समीक्षा तथा टिप्पणी गरेका थिए ।


प्रतिक्रिया

सम्बन्धित समाचार