मर्चवार । रुपन्देही निर्वाचन क्षेत्र नं. ४ का प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार आशुतोष मिश्रले नेपालको हरेक व्यवस्था परिवर्तनमा नेपाली कांग्रेस पार्टीको उच्च भूमिका रहेको बताउनुभयो । शनिबार मर्चवार–मै २ अमवामा सम्पन्न नेता तथा कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मिश्रले देशले खोजेको युवाको चाहनाअनुसार देशको व्यवस्था परिवर्तनका लागि नेपाली कांग्रेस पार्टीले सधैँ सकारात्मक र नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।
भदौ २३ र २४ गते भएको जेनेरेसन–जेड आन्दोलनमा भएका अप्रिय घटनाप्रति दुःख व्यक्त गर्दै नेपाली कांग्रेस पार्टीले सधैँ युवालाई अघि बढाएको उहाँले बताउनुभयो । नेपाली कांग्रेसले देशको विकास, परिवर्तन, हरेक क्षेत्रको सम्बोधनसँगै विदेशी सम्बन्ध सुधार्न पनि महत्वपूर्ण योगदान गर्दै आएको जानकारी उहाँले दिनुभयो ।
उहाँले भन्नुभयो, “नेपाली कांग्रेस पार्टीले युवालाई सभापति बनाएको छ र मर्चवारको विकास युवाबाटै सम्भव छ, त्यसैले पार्टीले मलाई मर्चवारको जिम्मेवारी सुम्पेको छ । मर्चवारको भौतिक विकास, सामाजिक विकास, विशेषगरी कृषि, स्वास्थ्य र शिक्षाको विकासका लागि केन्द्रमा आवाज उठाउने र सम्बोधन गर्ने मेरो प्रमुख लक्ष्य रहेको छ ।”
“केन्द्र सरकारले हरेक क्षेत्रको विकास गर्ने योजना बनाए पनि त्यसका लागि समन्वय र बहस गर्ने जिम्मेवार जनप्रतिनिधि नहुँदा ती योजनाहरू मर्चवारमा आउन सकेका छैनन्,” मिश्रले बताउनुभयो ।
कार्यक्रममा बोल्दै लुम्बिनी प्रदेश सभा सदस्य वसीउद्दीन खाँले आशुतोष मिश्र स्थानीय भएकाले मर्चवारको हरेक पीडा प्रत्यक्ष बुझ्ने व्यक्ति भएको, त्यसैले यस क्षेत्रका समस्या दीर्घकालीन रूपमा समाधान हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “मर्चवारको सडक, क्याम्पस र अस्पतालका विषयमा उम्मेदवार मिश्र निकै चिन्तित हुनुहुन्छ । म जुन क्षेत्रबाट प्रदेश सभा सदस्य निर्वाचित भएको छु, त्यही क्षेत्रमा धेरै विकास भएको छ । अब समग्र मर्चवारको विकासका लागि नेपाली कांग्रेसबाट उम्मेदवार बन्नुभएका आशुतोष मिश्रको ठूलो जिम्मेवारी रहेको छ ।”
कार्यक्रममा सम्मरीमाई गाउँपालिका अध्यक्ष बिनोद कुमार श्रीवास्तव, नेपाली कांग्रेस रुपन्देहीका कार्यसमिति सदस्य तौलन मुसलमान, नेपाली कांग्रेस सम्मरीमाई गाउँपालिका सभापति रामेश यादव लगायतले मन्तव्य राख्नुभएको थियो ।