ओमसतियामा ४ कोठे शैक्षिक भवनको उद्घाटन

मर्चवार न्यूज 367+ समाचार ( )
४ अशोज २०८१, शुक्रबार

भैरहवा । रुपन्देहीको ओमसतिया गाउँपालिका–३ करुवानीस्थित श्री जन जागृति माध्यमिक विद्यालय मा दुईवटा चारकोठे भवनको उद्घाटन गरिएको छ । १ करोड बढीको लागतमा निर्माण भएको भवनको एक कार्यक्रमकाबीच ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) ले उद्घाटन गरेका हुन् । 

सो अवसरमा बोल्दै अध्यक्ष यादवले नयाँ निमित्त प्रधानाध्यापक सफात अलीले पालिकास्तरमै अनुकरणीय कार्य गर्दै आउनुभएको बताए । उनले भने, ‘यही गतिमा विद्यालय अगाडि बढेमा यो विद्यालय छिट्टै नमूना विद्यालय बन्नेछ ।’ विद्यालयको अधुरो गेट तथा शौचालय निर्माण कार्य तत्काल सुरु गर्ने उनले प्रतिवद्धता व्यक्त गरे ।

त्यस्तै गाउँपालिका उपाध्यक्ष सुनिता चौधरीले विद्यालयमा राजनीति बन्द गरेर सम्पूर्ण शिक्षक, विद्यार्थी, अभिभावकहरुले आफ्नो कर्तव्य पूरा गरे विद्यालय उत्कृष्ट हुन समय नलाग्ने बताइन्।

ओमसतिया–३ का वडाअध्यक्ष प्रकाश सिंहले अहिले विद्यालयले राम्रो लय लिएको तथा विद्यालयको विकासका लागि आफू हरपल तयार र सकारात्मक रहेको बताए । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकेश प्रसाद चौधरीले विद्यालयको विकासका लागि दिनरात काम गर्न आफू तयार रहेको बताए ।

विद्यालयका निमित्त प्रधानाध्यापक सफात अलीले सबै एकजुट भइ विद्यालय सुधार गर्ने बताए । उनले भने, ‘अब विद्यालयको सर्वांगीण विकासमा सबै एकजुट हुन जरुरी छ । शैक्षिक गुणस्तरका लागि कसैले पनि कन्जुस्याइ गरेमा त्यो सैह्य हुँदैन ।’ विद्यालयले छिट्टै नमूना विद्यालय बनाउने प्रण लिएको उनको भनाइ छ ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विकेश प्रसाद चौधरीको अध्यक्षता, ओमसतिया गाउँपालिकाका अध्यक्ष मञ्जित कुमार यादव (सोनु) को प्रमुख आतिथ्यता, उपाध्यक्ष सुनिता चौधरीको विशिष्ट आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत विपिन क्षेत्री, वडा नम्बर ३ का वडाअध्यक्ष प्रकाश सिंह, शिक्षा अधिकृत हरि पोखरेल र श्री जन जागृति माविका निमित्त प्रधानाध्यापक सफात अलीको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै