मर्चवार । फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनका लागि नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ बाट दुई समुहले छुट्टाछुट्टै बैठक बसेर उम्मेदवार सिफारिस गरेका छन् । बुधबार कोटहीमाई–६ मर्चवारी मन्दिर धर्मशाला र कोटहीमाई–५ मझगावाँमा बसेका दुई बैठकले अपने–आफ्नै समूहबाट नाम सिफारिस गर्ने निर्णय गरेका हुन् ।
नेपाली कांग्रेस मर्चवारी गाउँपालिका सभापति जनार्दन यादवको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि आशुतोष मिश्र र गोपाल पाण्डेलाई सिफारिस गरेको छ । त्यस्तै समानुपातिक तर्फ राजकुमार सिंह र अवधराम यादवको नाम सिफारिस गरिएको जनार्दन यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि तौलन मुसलमान र कृष्ण कुमारी पोख्रेल भट्टराईको नाम पनि सिफारिस गर्ने निर्णय गरेको छ ।
लुम्बिनी प्रदेश सभा सदस्य तथा बैठकका प्रमुख अतिथि वसीउद्दीन खाँले मर्चवार अब स्थानीय हितलाई केन्द्रमा राखेर सबैलाई एकता दिलाउन सक्ने नेतृत्वको खोजीमा रहेको बताउँदै व्यापक समर्थनको आधारमा प्रतिनिधि सभाको पहिलो नामका रूपमा आशुतोष मिश्रलाई सिफारिस गरिएको जानकारी दिनुभयो । साथै उहाँले स्थानीय नेतृत्व चयनमा जिम्मेवारीपूर्वक निर्णय गर्न आग्रह गर्नुभयो ।
उता कोटहीमाई–५ मझगावाँमा नेपाली कांग्रेस रुपन्देही क्षेत्र नं. ४ का सभापति मुकेश यादवको अध्यक्षतामा बसेको बैठकले प्रतिनिधि सभा सदस्यका लागि प्रमोद कुमार यादव, रजनी अचार्य तथा आरती केवटीनको नाम सिफारिस गरेको छ ।
उक्त बैठकले प्रतिनिधि सभा समानुपातिक तर्फ टेक बहादुर घले, सन्तराम प्रसाद हरिजन, रामनरेश प्रसाद पासी, केतकी हरिजन र सर्बदा मोर्यको नाम सिफारिस गर्ने निर्णय गरेको सभापति यादवले बताउनुभयो । यससँगै बैठकबाट राष्ट्रिय सभा तर्फ राम नरायण यादवको नाम सिफारिस भएको जानकारी पनि क्षेत्रीय सभापति यादवले दिनुभयो ।
आशुतोष मिश्रा जी को ही चाहिए