मर्चवारी गाउँपालिकाका अध्यक्ष गया प्रसाद बरईज्यू नमस्कार । म तपाईकै गाउँपालिका वडा नम्बर ५ रामगंज निवासी एक किसान प्रहलाद मुराव । किसानको मल, बीउ र सिंचाई नै प्रमुख आवश्यकता हो । तपाई पनि यही गाउँपालिकाबासी हो । त्यसैले किसानको आवश्यकतालाई बुझ्नुहुन्छ भन्ने कुरा म विश्वस्त छु । निर्वाचनको समयमा मैले तपाईलाई भेटेको थिए । त्यसपछि हाम्रो भेट हुन सकेन । त्यसैले बाध्यताले मैले यो चिठ्ठी लेख्दैछु । मैले लगाएको धान खेतबाट नै मर्चवार सन्देशमार्फत तपाईलाई यो चिठ्ठी लेखेर पठाउँदैछु ।
तपाई एसीवाला गाडीबाट हिंडिरहदा कहिलेकाही खेतमा काम पसिना बगाउँदै गरेको किसानसँग बस्नुहोला, अनि किसानको हरेक पीडा थाहा हुन्छ । तपाईलाई निर्वाचनको बेला मेरो टोलमा भोट माग्दै गर्दा गरेको वाचा सायद याद नै होला । हामीले राम्रो विद्युतको माग गरेका थियौं । हाम्रो गाउँमा विद्युतीय तारपोल आए पनि त्यसमा राम्रो भोल्टेज छैन । तपाई गाउँपालिका अध्यक्ष र वडाअध्यक्ष कृष्ण कुमार सिंहले ट्रान्सफार्मर लगाउने वाचा गर्नुभएको थियो । तर, अहिलेसम्म लगाउनु भएन । हामी यस टोलका सबै घरपरिवार मधुरो बत्ती बलेको प्रकाश मुनी बसेर रातीको छाक पुरा गर्दछौ । छतमा झुण्डिएको पंखा मुनी सुतिरहदा हाते पंखा घुमाउने बाध्यता कहिलेसम्म ?
नेपालको विभिन्न कुना कप्चा तथा ग्रामीण क्षेत्रमा रहेको किसानलाई केन्द्र सरकारले नहेरेको अवस्थामा स्थानीय सरकारकै भर हुन्छ । हाम्रो गाउँको वरीपरी न त सिंचाई गर्ने नहर, न कुलो, डिप ट्यूबेल नै छ । विभिन्न साना पोखरीमा जम्मा भएको पानी र बोरिङ्ग नै सिंचाईका श्रोत हुन् । एउटा ट्युबवेल निर्माण भइदिए भने हामी यस क्षेत्रका किसानलाई निकै ठुलो राहत हुने थियो । हाल रहेको पोखरी र बोरिङ्गबाट सिंचाई गर्न डिजेल इन्जन नै प्रयोग गर्न बाध्यता रहेको छ । जसले खेतीपातीमा लागत निकै धेरै असर परेको छ । हामी किसान कृषि मिटर लगाउन तयार छौं । तर, कृषि क्षेत्रमा विद्युतीकरण भएको छैन । यसप्रति पनि हजुरको ध्यानाकर्षणका लागि अनुरोध छ ।
यस सन्देशसँगै मेरो बुहारी स्नातक अध्ययन गरी घरमा बसी बेरोजगार छ । उसले शिक्षक अध्यापन अनुमति पत्र पनि लिइसकेको छ । तर, कुनै विद्यालयमा भर्ना खुल्दा विद्यालयमा प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति लगायत विभिन्न प्रत्यक्ष सरोकारवाला आफ्नै आसेपासेलाई मात्र भर्ना गर्ने गरेको पाइएको छ । यसप्रति पनि हजुरले चासो लिइदिन यसै चिठ्ठीमार्फत अनुरोध गर्न चाहन्छु ।
आशा गरेको छु मर्चवार सन्देशमार्फत पठाइएको चिठ्ठी तपाईले अवश्य प्राप्त गर्नुहुनेछ र हाम्रो गाउँबारे माथि दर्शाइएका विभिन्न समस्या समाधान गर्नुहुनेछ । गाउँपालिकाले हरेक वर्ष निर्माण गर्ने गाउँपालिकाको विकास निर्माणबारे लेखिएको रातो किताबमा हामी किसानको पीडा समाधान गर्ने योजना समावेश हुनेछ ।
तपाईकै गाउँपालिकाबासी प्रहलाद मुराव ।
Right