भैरहवा, १७ पुस । लुम्बिनी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले भैरहवा पार्यटक आउने मुख्य थलोको रुपमा रहेको बताएकाछन् । स्थल भएर आउने पर्यटकहरु बेलहिया नाका भएर आउने पर्यटक प्रदेश मै सर्बधिक रहेको बताएका हुन् ।
उनले लुम्बिनी प्रदेशमा पर्यटन क्षेत्रको विकासका निम्ति लागिपरेको दावी गरेका हुन् । चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) को आयोजनामा मंगलबार भैरहवामा भएको स्ट्रीट फूड फेस्ट (सडक खाना महोत्सव–२०२५) को उद्घाटन गर्दै मन्त्री कार्कीले यस्तो बताएका हुन् । उनले भने ‘पर्यटक आउने वातावरण सरकार र व्यवपारी दुबै मिलेर बनाउनुपर्दछ । व्यवसायीको व्यवहार पनि पर्यटन धेरै प्रभाव पारेको हुन्छ । पर्यटन संग कसरी बोल्ने, कस्तो ब्यवाहार गर्ने विषयमा पनि पर्यटन ब्यवसायीले साकारात्मक सुधार ल्याउनु पर्दछ पर्यटक हाम्रा पाहुना हुन् । पाहुनालाई खुसी बनाउनुपर्छ । ’
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि विभिन्न प्रयास भएको छ ’उनले भने–हामी यसमा निरन्तर खटेका छौं । यो विमानस्थल चलाएर छोडछौं । लुम्बिनी प्रदेशमै सबैभन्दा धेरै पर्यटक भित्रिने बेलहिया नाका हो ।’
त्यस्तै संविधान सभा सदस्य तथा सिद्धार्थनगर नगरपालिकाका प्रमुख (मेयर) इश्तियाक अहमद खाँले पर्यटन क्षेत्रमा देखिएका समस्या समाधान गर्नुपर्नेमा जोड दिए । ‘पर्यटकले नेपालमा आएर पैसा खर्च गर्छन्’ उनले भने, ‘४ घण्टा नाकामै बसाल्नुहुन्छ भने पर्यटक त्यहीबाट फर्किन्छन् ।’ उनले आउने दिनमा संसारभरीको पर्यटकलाई ‘फ्री भिसा’ दिनुपर्ने उनले बताए । यो ‘मन्दीको बेला पनि यहाँहरुले दह्रो उपस्थिति देखाउनुभएको छ । म सलाम गर्न चाहन्छु’उनले भने–सिद्धार्थनगरको भविष्य उज्जवल छ । सकारात्मक सोचका साथ अघि बढ्नुपर्छ ।’
रुपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले भैरहवामा सडक खाना महोत्सव आयोजना गर्नु प्रशंसनीय प्रयास रहेको बताए । उनले नयाँ वर्षको आगमनसँगै आशाको सञ्चार हुने विश्वास व्यक्त गरे । प्रजिअ घिमिरेले यसप्रकारको महोत्सव, उत्सवले पर्यटकलाई आकर्षित गर्ने बताए । ‘हामीले अनुभव गरेका छौं, अर्थतन्त्र केही स्लो डाउन भएको छ’ उनले भने–उद्योग–व्यवसायमा अलिकति मन्दी देखिएको छ । आर्थिक क्रियाकलाप सक्रिय हुनुपर्छ ।’ उनले रुपन्देही जिल्लामा सीमा पार अपराध नियन्त्रण गर्न साधनस्रोतको भरपूर प्रयोग र उपयोग गरिएको बताए ।
नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंक प्रसाद पोखरेलले धेरै भन्दा धेरै पर्यटक आउने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले सडक खाना महोत्सव कार्यक्रम आम नागरिकको चासोको विषय भएको बताए । ‘निजी क्षेत्र निराश छ, विश्वास टुटेको छ । आशा जगाउनु छ । विश्वास बढाउनु छ’उनले भने–यो हामी सबैको जिम्मेवारी हो । सडक खाना महोत्सवलाई निरन्तरता दिनुपर्छ ।’ गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित सञ्चालनका लागि सामूहिक पहल गरेको उनको भनाइ छ ।
चेम्बर अफ कमर्स, रुपन्देही (उद्योग व्यापार संगठन, रुपन्देही) का अध्यक्ष दर्पण श्रेष्ठले सडक खाना महोत्सवले स्थानीय बजार चलायमान बनाउनुका साथै स्थानीय कलाकार, कला, संस्कृति तथा परिकारको प्रवद्र्धन गर्ने बताए । उनले यस्ता कार्यक्रमले पर्यटन प्रवद्र्धनमा ईट्टा थप्ने विश्वास रहेको बताए । ‘वर्षमा ५–६ पटक सडक खाना महोत्सव सञ्चालन गर्नुपर्छ उनले भने–गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान निरन्तर सञ्चालन गर्नुपर्छ, हामी पर्यटकलाई स्वागत गर्न तयार छौं ।’
संगठनका पूर्वअध्यक्ष तथा सल्लाहकार नारायण प्रसाद भण्डारीले पर्यटन क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताए । उनले सडक खाना महोत्सवले बजारलाई थप चलायमान बनाउने भएकाले कार्यक्रमको तीनै तहका सरकारका निकायले स्वामीत्व लिनुपर्नेमा जोड दिए । ‘हाम्रो क्षेत्रमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट पुनः अन्तर्राष्ट्रिय उडान सुरु भएको छ उनले भने–सोचे जतिको पर्यटक भित्र्याउन सकेका छैनौं । यस क्षेत्रमा धेरै सम्भावना छन् । भारतीय पर्यटकलाई विभिन्न ठाउँमा चेकजाँचको नाममा दुःख दिन नहुने र धेरै भन्दा धेरै खर्च गर्ने वातावरण सिर्जना गर्नुपर्छ ।’
संगठनका निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवालीले पर्यटन प्रवद्र्धन गर्दै आर्थिक विकासको लक्ष्यका साथ सडक खाना महोत्सव आयोजना गरिएको बताए । उनले निश्चित क्षेत्र छुट्याएर रात्रीकालीन बजार सञ्चालन गर्नुपर्नेमा जोड दिए ।
लुम्बिनी प्रेस क्लब, रुपन्देहीका अध्यक्ष कमल रायमाझीले सडक खाना महोत्सवले पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने बताए । उनले यस्ता कार्यक्रम सरकारी निकायले पनि आयोजना गर्नुपर्ने बताए । ‘भैरहवालाई पर्यटनको हब बनाउनुपर्छ’अध्यक्ष रायमाझीले भने–अरुलाई दोष थुपारेर मात्र हुँदैन । नकारात्मक सोच हटाउनुपर्छ ।’
संगठनकी महासचिव लक्ष्मी अधिकारीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
उद्योग व्यापार संगठन, रुपन्देहीको आयोजना, सिद्धार्थनगर नगरपालिका रुपन्देही र यूनिक साउण्ड भैरहवाको सह–आयोजनामा भएको सिद्धार्थनगर नगरपालिका–१२ स्थित प्रहरी टोलमा भएको महोत्सवको संरक्षकमा नेपाल चेम्बर अफ कमर्स, लुम्बिनी प्रदेश,प्रवद्र्धकमा पर्यटन विकास परिषद्, लुम्बिनी प्रदेश, प्रायोजकमा गोर्खा ब्रुअरी, सह–प्रायोजकमा रुद्राक्ष मार्ट भैरहवा र विशेष सहयोगीमा यूनिक बैंक्वेट रहेका थिए ।
त्यस्तै सहयोगी संस्थाहरुमा सिद्धार्थ सञ्जाल रुपन्देही, सिद्धार्थ होटल संघ (सान), होेटल तथा रेष्टुरेण्ट व्यवसायी संगठन, लुम्बिनी प्रेस क्लब रुपन्देही, आस्था महिला उद्यमी संघ, मोबाइल व्यवसायी संगठन रुपन्देही, मदिरा व्यवसायी संघ भैरहवा, सोसाईटी अफ टुर्स एण्ड ट्राभल्स (सोट्टो), नेपाल एशोसियशन अफ टुर्स एण्ड ट्राभल्स (नाट्टा), सिद्धार्थ सार्वजनिक यातायात प्रा.लि. र सिद्धार्थ यातायात व्यवसायी प्रा.लि. रहेको संगठनका सचिव तथा प्रवक्ता कृष्ण प्रसाद पाण्डेले बताए ।
महोत्सवमा स्थानीय कलाकारको प्रस्तुति रहेको थियो । अंग्रेजी नयाँ वर्ष २०२५ को स्वागतमा आयोजित महोत्सवमा विभिन्न खानेकुरा राखिएका स्टल थिए । महोत्सवको करिब २५ हजार दर्शकले अवलोकन गरेको अध्यक्ष दर्पण श्रेष्ठले बताए ।