भैरहवा, ८ वैशाख । चेम्बर अफ कमर्स, रुपन्देही ९ उद्योग व्यापार संगठन, रुपन्देहीले भैरहवामा नगर प्रहरीले ज्यादती गरेको भन्दै आपत्ति जनाएको छ । संगठनले पसलको अगाडिबाट सामग्री उठाउने नाममा नगर प्रहरीले ज्यादती गरेको भन्दै सोमबार सिद्धार्थनगर नगरपालिकाका प्रमुख ९मेयर० इश्तियाक अहमद खाँलाई ज्ञापनपत्र बुझाएको हो ।
‘एकाएक नगर प्रहरीद्वारा पसलहरुको अगाडिबाट व्यापारीका सामग्रीहरु बिना मुचुल्का कुनै पनि प्रकारले उठाएर लैजाने क्रममा शरीरमा चोटपटक लाग्ने गरी जबरजस्ती धक्कामुक्की गर्नु, हातखुट्टा भाँच्नु, पर्यटकहरुसित अभद्र व्यवहार गर्ने कार्य भएको छ, ’संगठनका अध्यक्ष दर्पण श्रेष्ठले भने । उनले हालको परिस्थितिमा बजार चलायमान नभएर सम्पूर्ण उद्योग–व्यवसाय क्षेत्र समस्याग्रस्त रहेको बताए । नगर प्रहरीको बोल्ने व्यवहार, शैली, सामान उठाउने, पर्यटकहरुसित गरिने व्यवहार राम्रो नरहेको, चेतावनी दिएर सामान उठाउनुपर्ने भए पनि राम्रो व्यवहार नगरिएको उद्योगी–व्यवसायीको गुनासो छ ।
त्यसैले तालिमको साथ प्रहरीलाई परिचालन गर्न अध्यक्ष श्रेष्ठले नगरपालिकाले आग्रह गरे । अन्यथा यस विषयमा घोर विरोध गर्न बाध्य हुने उनले बताए ।
ज्ञापनपत्र बुझाउन संगठनका अध्यक्ष श्रेष्ठ, निवर्तमान अध्यक्ष अनिल कुमार ज्ञवाली, वरिष्ठ उपाध्यक्ष सचिन रोक्का, महासचिव लक्ष्मी अधिकारी, कोषाध्यक्ष सुरेन्द्र पाण्डे, सचिव गौतम गुप्ता, एशोसियट सदस्य राम अवध गुप्ता, कार्यसमिति सदस्य प्रियबन्ध न्यौपाने, कृष्ण प्रसाद मरासिनी लगायत सिद्धार्थनगर नगरपालिकाको कार्यालय पुगेका थिए ।