भैरहवा– रुपन्देहीको भैरहवास्थित लुम्बिनी प्रदेशस्तरीय बालसुधार गृहमा एकजना बाल कैदी (बालविज्याई) ले आत्महत्या गरेका छन् । जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी नायव उपरीक्षक (डीएसपी) गणेश सापकोटाका अनुसार शनिबार ती बालक (उमेरले युवा भए पनि मुद्दा दर्ता हुँदा बालक भएकाले बालकै भनिन्छ) ले आत्महत्या गरेका हुन् ।
दिउँसो करिब २ बजे सिद्धार्थनगर नगरपालिका–७, तिनतारा पथ स्थित रहेको बाल सुधार गृहमा सम्मरीमाई ४ का २१ वर्षीय सन्दिप गोसाईले भुण्डिएर आत्महत्या गरेको प्रहरीले जनाएको छ । ‘दिउँसो सुधारगृहमा रहेका बालकहरुको गन्ती गरी चेकजाँच गर्ने क्रममा सुधार गृहको तेस्रो तल्लाको टिनले छाएको स्टोर कोठामा फलामको पाइपमा नरिबलको डोरीले पासो लगाई झुण्डिएको अवस्थामा गोसाईलाई फेला पारिएको हो’, डीएसपी सापकोटाले भने ।
उनी जवरजस्तीकरणी मुद्दामा कैदी जीवन कटाइरहेका थिए । प्रहरीका अनुसार मृतक गोसाईले विगत १ वर्षदेखि सुधारगृहमा मोनिटर (नाइके)को रुपमा जिम्मेवारी वहन गर्दै भित्रको रेखदेख गर्दै आएका थिए ।