मर्चवार । रुपन्देहीको शुद्धोधन गाउँपालिका वडा नं. ७ सिसवा घाटमा लक्ष्मी मुर्ति विसर्जन गर्न गएका तीनजनाको डुबेर मृत्यु भएको छ । मुर्ति विसर्जन गर्न गएका मायादेवी गाउँपालिका वडा नम्बर १ का १३ वर्षीय अजय हरिजन, १५ वर्षीय दीपु हरिजन र २८ वर्षीय रोहित हरिजनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिएका छन्।
दानव र कञ्चन नदीको संगमस्थल सूर्यपुरास्थित सन्तेश्वर घाटमा दिउँसो करिब ३ बजे उनीहरू मूर्ति विसर्जन गर्न गएका उनले जानकारी दिएका छन् । विसर्जनका क्रममा उनीहरू नदीमा बेपत्ता भएपछि इलका प्रहरी कार्यालय सुर्यपुरा, इलाका प्रहरी कार्यालय छपिया र सशस्त्र प्रहरी बलको संयुक्त रूपले खोजीका क्रममा करिब २०० मिटर तल तीनै जनाको शव फेला परेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिएका छन् ।
घटनास्थलमै छठ पर्वको तयारी भइरहेको बेला घटेको यस दुर्घटनापछि सूर्यपुरा र मायादेवी क्षेत्र शोकमग्न बनेको स्थानीय सन्दीप गुप्ताले बताएका छन् ।