मर्चवार । भूमि विधेयक विरुद्धमा जनता समाजबादी पार्टी नेपाल कोटहीमाई समितिले मर्चवारमा प्रदर्शन गरेको छ । आइतबार कोटहीमाई ७ परसहवाँमा कोण सभा गरी उक्त प्रदर्शन गरेका हो ।
जसपा नेपालले भूमि सम्बन्धि विधेयक मुलुक र जनताको हितमा नरहेको, भू–माफिया, जग्गा दलालको हित हुने र यसबाट वनजंगल विनाश भइ तराई–मधेश मरुभूमिकरण हुने भएकाले सुरुदेखि नै यसको विपक्षमा रहेको बताएको छ ।
भूमि विधेयक विरुद्धमा अहिले अन्दोलनको सुरुवात रहेको जसपा नेपाल कोटहीमाईका इन्चार्ज राहुल यादवले बताए । पार्टीको केन्द्र तथा प्रदेश समितिको निर्देशनअनुसार प्रदर्शनमा उत्रिएको यादवले बताए । भूमि विधेयक फिर्ता नभए अन्दोलनलाई शसक्त बनाउने उनले जानकारी दिएका छन् ।
विरोध सभामा बोल्दै जसपा नेपालका केन्द्रीय सदस्य कैलाश गुरुङले बाध्य भएर आफूहरु आन्दोलनमा उत्रिनुपरेको बताए । उहाँले सरकारले यो आन्दोलनलाई कमजोर ठाने अझ सशक्त रुपमा अगाडि बढ्ने बताए । उहाँले वर्तमान सरकारले किसानको समस्या समाधान गर्न नसकेको आरोप लगाए । मर्चवारमा आफुले २० वर्ष पहिलादेखि आइरहेको बताउदै जिल्लाको अरु क्षेत्रमा निकै परिवर्तन भएपनि मर्चवारले खासै परिवर्तन नगरेको बताए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले यस विधेयकको विरुद्धमा खडा भएपछि उनमाथि झुठा मुद्दाको प्रहार भएको बताए । यो विधेयकले पुरै नेपाललाई मरुभुमि बनाउने सडयन्त्र भइरहेको बताए ।
जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले विधेयकको वास्तविक रुपलाई जनतामा खुलासको गर्न यो बिरोध कार्यक्रम गरिएको बताए । भुमि विधेयक पास भएपछि सबै चुरे पहाडको वन फडानी हुने र तराईमा रहेका विभिन्न वनजंगलहरु खाटेर बिचौलियाको हातमा बिक्री हुने बताए ।
बिरोध कार्यक्रममा जसपा नेपाल रुपन्देहीका अध्यक्ष सियाराम यादव, जसपा नेपाल सिद्धार्थनगर नगरपालिका अध्यक्ष जाबेद आलम, जसपा नेपाल गैडहवा गाउँपालिका अध्यक्ष शिव कुमार यादव, कोटहीमाई गाउँपालिका पुर्वअध्यक्ष चन्द्रभुषण यादव लगायतका मनतब्य राखेका थिए ।