मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा जनता समाजवादी पार्टी (जसपा) नेपालले विरोध सभा सम्पन्न गरेको छ । आइतबार कोटहीमाई–७ परसहवाँमा पार्टीको कोटहीमाई गाउँपालिका समितिको आयोजनामा उक्त विरोध सभा सम्पन्न भएको हो ।
विरोध सभामा बोल्दै जसपा नेपालकी केन्द्रीय सदस्य रीता यादवले जेनजी आन्दोलनबाट बनेकी प्रधानमन्त्री सुशिला कार्कीले एमाले पार्टीको निर्देशनमा काम गरिरहनुभएको आरोप लगाउनुभयो । साथै उहाँले हालको सरकारले जेनजी आन्दोलनका उद्देश्यभन्दा बढी एमाले र कांग्रेसलाई सन्तुष्ट पार्ने कार्य गरिरहेको आरोप पनि लगाउनुभयो ।
प्रमुख अतिथि यादवले भन्नुभयो, “एमाले र कांग्रेसले मधेशलाई भोट बैंकको रूपमा मात्र प्रयोग गरेका छन् । तर निर्वाचित भएपछि पहाडमै मात्र प्राथमिकता दिएका छन् । जेनजी युवाको आन्दोलनबाट प्रधानमन्त्री बनेकी सुशिला कार्कीले मधेसीहरूको हितमा कुनै काम गरेकी छैनन् । मधेश र पहाडसहित हरेक क्षेत्रबाट भएका आन्दोलन र बलिदानीपछि आएको संविधान आजसम्म पूर्ण रूपमा लागू हुन सकेको छैन ।”
उहाँका अनुसार संविधानले गरेको प्रदेशको व्यवस्थामा केन्द्रीय सरकारले कुनै अधिकार नदिएको पनि गुनासो रहेको छ । नेपालका हरेक क्षेत्रमा जनसंख्याका आधारमा संरचना निर्माणसहित जसपा नेपालले राखेको २८ बुँदे माग पूरा नभए कठोर आन्दोलन गर्ने चेतावनी समेत उहाँले दिनुभयो ।
यसैगरी कार्यक्रममा बोल्दै जसपा नेपाल लुम्बिनी प्रदेश अध्यक्ष रामअवतार यादवले जसपा नेतृत्वमा भएको मधेश आन्दोलनकै उपलब्धीले नेपालका हरेक क्षेत्रमा मधेसी आरक्षण सुनिश्चित भएको बताउनुभयो । उहाँले भन्नुभयो, “जसपाको आन्दोलनले हासिल गरेको अधिकारकै कारण दलित, महिला, पिछडादेखि अन्य वर्गले निर्वाचनमा भाग लिन पाएका छन् । तर एमाले, कांग्रेस नेतृत्वका सरकारहरू तथा जेनजी आन्दोलनपछि बनेको सरकारले समेत मधेसी र किसानहरूमाथि विभेद गरिरहेको छ ।”
मधेश आन्दोलनपछि निर्धारण भएको मधेसी आरक्षणमा समेत पहाडी समुदायलाई मधेसी प्रमाणित गरी मधेसीहरूको अधिकार खोसिँदै जागिर तथा अन्य सेवासुविधा बिक्री भइरहेको आरोप पनि उहाँले लगाउनुभयो ।
उनका अनुसार प्रमुख जिल्ला अधिकारी मार्फत प्रधानमन्त्रीलाई पठाइएको २८ बुँदे मागपत्र पूरा नभए चरणबद्ध रूपमा कडा आन्दोलन गर्ने पार्टीको तयारी छ ।
जनता समाजवादी पार्टी नेपाल, कोटहीमाईका इन्चार्ज राहुल यादवको अध्यक्षतामा सम्पन्न उक्त विरोध सभामा जसपा नेपाल लुम्बिनी प्रदेश कोषाध्यक्ष बच्चुलाल कवेट, जसपा नेपाल सिद्धार्थनगर अध्यक्ष जावेद आलम, जसपा विद्यार्थी सघं रुपन्देही अध्यक्ष बिरेन्द्रसिंह यादव, विद्यार्थी संघ रुपन्देही सचिव कौशलेन्द्र मिश्रलगायतका नेताहरूले मन्तव्य राखेका थिए ।
मादेश बिकास ना हुनुको कारण हमी रा हमले चुनेका संसद हो परधान मंत्री होइन 🙏अरू लाई दोष लाउनु भन्दा आफु रा आफ्नो सोच बदलना जरूरी छ
मादेश बिकास ना हुनुको कारण हमी रा हमले चुनेका संसद हो परधान मंत्री होइन 🙏अरू लाई दोष लाउनु भन्दा आफु रा आफ्नो सोच बदलना जरूरी छ