लुम्बिनी कर्पोरेट क्रिकेटको उपाधी एके ग्राफिक्सलाई

हृदयराम गुप्ता 121+ समाचार ( )
१० पौष २०८०, मङ्गलबार

मर्चवार न्युज

भैरहवा, ९ पुस । लुम्बिनी सुपर सिक्सेस कर्पोरेट क्रिकेट प्रतियोगिताको उपाधि एके ग्राफिक्स, भैरहवाले हाथ पारेको छ । लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आफ्नो ९वौं स्थापना दिवसको अवसरमा आयेजना गरेको प्रतियोगिताको मंगलबार भएको फाइनल खेलमा न्यु सिटीपी प्वाइन्ट, बुटवललाई २ विकेटले पराजित गर्दै एके ग्राफिक्सले उपाधि हातपार्न सफल भएको हो ।

उपाधिसँगै एके ग्राफिक्सले नगद २५ हजार रुपैयाँ र ट्रफी प्राप्त गरेको छ भने उपविजेतामा चित्त बुझाएको न्यु सिटीपी प्वाइन्टले नगद १३ हजार र ट्रफी हातपारेको छ ।

सिद्धार्थनगर–९ स्थित गोनहिया मैदानमा भएको फाइनल खेलमा जितकालागि ७१ रनको लक्ष्य पाएको एके ग्राफिक्सले निर्धारित ५ ओभरको खेलमा ४ बल बाँकी छँदै ३ विकेट गुमाएर जित आफ्नो पक्षमा पारेको हो । एकेका लागि संजय यादवले सर्वाधिक ३३, मोहम्मद रफिकले १२ र जितेन्द्र चौधरीले ८ रनको योगदान दिए । बलिङमा न्यू सिटीपीका प्रविन पौडेल, श्रीधर केसी र सुशील रिजालले समान १–१ विकेट लिए ।

यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको न्यु सिटीपीले निर्धारित खेलमा २ विकेटको क्षतिमा ७० रनको सामान्य योगफल बनाएको थियो । उसकालागि श्रीधर केसीले २०, प्रविन केसीले १६ र प्रकाश पाण्डेले १० रन बनाए । बलिङमा एके ग्राफिक्सका जितेन्द्र चौधरी र मोहम्मद रफिकले १–१ विकेट लिए । खेलमा एकेका संजय यादव म्यान अफ द फाइनल भई एक हजार रुपैयाँ प्राप्त गरे ।

प्रतियोगितामा न्यु सिटीपीका श्रीधर केसी उदयमान खेलाडी र सीटीपीकै सुशील रिजाल उत्कृष्ट बलर हुन सफल भए । यस्तै, एके ग्राफिक्सका हृदेश हरिजनले बेष्ट ब्याट्सम्यानको उपाधि जित्न सफल भए । उनीहरुले जनही ३ हजारका दरले पुरस्कार प्राप्त गरे ।


आजै भएको पहिलो सेमिफाइनल खेलमा न्यु सिटीपीले सीता मेडिकल हल, रोहिणीलाई ४ विकेटले पराजितगर्दै फाइनलमा प्रवेश गरेको थियो भने एकेले बैंकर्स क्लब, भैरहवालाई पनि ४ विकेटले नै पराजित गर्दै फाइनल पुगेको थियो । दुई दिनसम्म संचालित खेलमा विभिन्न कर्पोरेट हाउसका ९ टिम सहभागी थिए ।

विजेता र उपविजेता खेलाडीहरुलाई सिद्धार्थनगर नगरपालिका उपप्रमुख उमा अधिकारी, नेपाल पत्रकार महासंघ, रुपन्देहीका अध्यक्ष रामराज पोखरेल, लुम्बिनी प्रेस क्लबका कार्यबाहक अध्यक्ष कमल रायमाझी, रुपन्देही प्रहरी प्रमुख भरतबहादुर विक, सशस्त्र प्रहरी प्रमुख दीपक कुमार थापा, राष्ट्रिय अनुसन्धानका रुपन्देहीका प्रमुख हुमकान्त पाण्डे, प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुंगाना, पूर्व अध्यक्षदीपेश पछाई, निवर्तमान अध्यक्ष नरेश केसी, सल्लाहकार मनोरंजन शर्मा, दीपेन्द्र बडुवाल, शारदा मल्ल, क्लबका सचिव तथा प्रतियोगिता संयोजक प्रकाश न्यौपाने, कोषाध्यक्ष राधेश्याम विश्वकर्मा, उपविजेता पुरस्कार प्रयोजक ग्रो मोर फर्टिलाइजर एण्ड केमिकल प्रालिका संचालक पुनम कुमारी अग्रवाल लगायतले पुरस्कार प्रदान गरेका थिए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै