मर्चवार ९ मंसिर । रुपन्देहीको मर्चवारी गाउँपालिकामा कुष्ठ तथा क्षय रोग खोज अनुसन्धान गर्न महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरुलाई अभिमुखीकरण गरिएको छ । आइतबार (आज) रायपुर प्राथमिक स्वास्थ्य केन्द्र अमवामा स्वास्थ्य कार्यालय रुपन्देहीका प्रमुख चिन्तामणि ज्ञवालीको प्रमुख अतिथ्यतामा सो कार्यक्रम सम्पन्न भएको हो ।
मर्चवारी गाँउपालिका र फेरमेड÷इन्द्रेणी ग्रामिण विकास केन्द्र, बुटवलको संयुक्त साझेदारीमा मंसिर १३ गते देखि २३ गते सम्म उक्त रोगहरुको खोज अभियान संचालन हुने सो कार्यक्रमको अध्यक्ष तथा मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साहले बताए । अभिमुखीकरण कार्यक्रममा उक्त रोगहरुको पहिचान कसरी गर्ने, उक्त अभियानमा कसरी काम गर्ने, उक्त अभिायन किन संचालन गर्ने, अभियानको उद्देश्य के हो लगायतका विषयमा अभिमुखीकरण गरिएको स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिएका छन् । वडा नं. १ देखि वडा नं. ७ सम्मको ७ वटा स्वास्थ्य चौकी क्षेत्रमा कार्यरत ६६ जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, स्वास्थ्यकर्मी तथा इन्द्रेणी ग्रामिण विकास केन्द्र, बुटवलमा प्रतिनिधिहरु खटिने स्वास्थ्य शाखा प्रमुख साहले जानकारी दिएका छन् ।
अभिमुखीकरण कार्यक्रममा स्वास्थ्य कार्यालय रुपन्देहीका वरिष्ठ क्षय कुष्ठ निरिक्षक टीकाराम अधिकारी, फेरमेडका टिम लिडर शशिदेव कर्ण, मर्चवारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख फेकन साह, इन्द्रेणी ग्रामिण विकास केन्द्रका किरण श्रेष्ठद्वारा उक्त अभियानबारे प्रस्तुती गरिएको थियो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका लेखा अधिकृत प्रदिप लम्साल, इन्द्रेणी ग्रामिण विकास केन्द्रका फिल्ड सुपरभाइजर अलाउद्दीन खान, बोर्ड सदस्य जैस मोहम्मद खानको उपस्थिति रहेको उक्त कार्यक्रम रायपुर प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख राकेश प्रसाद यादवको स्वागत मन्तव्य तथा मर्चवारी गाँउपालिकाका सि.अ.हे.व.पुरुषोतम घिमिरेको संचालनमा सम्पन्न भएको थियो ।