मर्चवार । कोटहीमाई गाउँपालिका वडा नं. ५ मझगावाँमा बृहत निःशुल्क आँख जाँच शिविर संचालन हुदै छ । मंसिर २० गते शनीबार मभगावाँको प्रभु बैंक पछाडी रहेको आँखा अस्पताल परिसरमा आँख जाँच शिविर संचालन हुने आयोजक संस्थाले जानकारी दिएको छ ।
रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आफ्नो दशौँ स्थापना दिवसको अवसरमा बृहत् निःशुल्क आँखा जाँच, मोतियाबिन्दु तथा शल्यक्रिया शिविर आयोजना गरेको क्लबका अध्यक्ष विष्णु शर्माले जानकारी दिनुभएको छ । सन् २०१६ मा स्थापना भएको यस क्लबले समुदायमा दृष्टिसम्बन्धी समस्या समाधान गर्ने उद्देश्यका साथ उक्त शिविरको आयोजना गरिएको उहाँले जानकारी दिनुभएको छ ।
उहाँको अनुसार शिविरमार्फत न्यूनतम २५० जना मोतियाबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया गर्ने लक्ष्य राहेको छ ।
उहाँले दिनुभएको जानकारी अनुसार शिविर सञ्चालनका लागि कोटहीमाई गाउँपालिका, सम्मरीमाई गाउँपालिका र मर्चवारीमाई गाउँपालिकाको सहयोग लिइनेछ भने एभरेस्ट बैंक सह प्रायोजकको रुपमा रहेको छ । शिविरमा लुम्बिनी नेत्रालयले प्राविधिक सहयोग उपलब्ध गराउनेछ ।
शिविरबारे जानकारी दिँदै लुम्बिनी नेत्रालयका डा. हिरा शाहले शिविरमा नयाँ प्रविधिअनुसार ‘टपिकल फेको’ विधिबाट शल्यक्रिया गरिने बताउनुभयो । उहाँले भन्नुभयो ‘यो विधिमा १० देखि १२ मिनेटभित्र शल्यक्रिया सम्पन्न भई बिरामी आधा घण्टाभित्र घर फर्कन सक्नेछन् । बाहिर गर्दा करिब रु. १२ हजारभन्दा बढी रकम लाग्ने यो शल्यक्रिया शिविरमा पूर्णतः निःशुल्क गरिनेछ ।
निशुल्क रुपमा हुने उक्त शिविरमा बढी भन्दा बढी सहभागी गराउन रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले आग्रह गरेको छ ।