मर्चवार १७ चैत÷रुपन्देहीको मर्चवार क्षेत्रमा स्थानीय र प्रहरी संयुक्त रुपले सरसफाई गरेका छन् । कोटहीमाई गाउँपालिका वडा नं. ४ बैरघाट स्थित कोटहीमाई मन्दिरमा शनीबार बिहान कोटहीमाई–४ का वडाध्यक्ष बेचुराम पालको नेतृत्वमा स्थानीयवासी, सशस्त्र प्रहरी बल मझगावाँ, ईलाका प्रहरी कार्यालय मझगावाँ र ईलाका प्रहरी कार्यालय कदमहवाको संयुक्त सहभागीमा सरसफाई गरिएको हो ।
कोटहीमाई स्थानमा आज शनीवारदेखि हुने विष्णु महायज्ञलाई लक्षित कोटहीमाई मन्दिर सहित उक्त परिसरमा रहेको विभिन्न फोहोरलाई ब्यवस्थापन गरी मन्दिर परिसरलाई सफा बनाइएको कोटहीमाई गाउँपालिका वडा नं. ४ का वडाध्यक्ष बेचुराम पालले बताए । सरसफाई पछि औपचारिक कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष पालले जनचेतनाको अभावले विभिन्न धार्मिक स्थल सहित अन्य सार्बजनिक स्थल दुर्गन्धित भएको बताए । वडाध्यक्ष पालले भने ‘हामीले कुनै पनि सामान प्रयोग गर्दा त्यसबाट निस्किने फोहोर आफै उचित स्थानमा ब्यवस्थापन गर्नुपर्दछ । जसले हामी विभिन्न रोगबाट बच्न सक्छौँ र माटोमा पनि कुनै खराब असर गर्दैन । विभिन्न मठमन्दिर सहित विभिन्न धार्मिक स्थल तथा सार्बजनिक स्थल सफा र संरक्षण गर्न हामी सबैको दायित्व हो ।’