उत्कृष्ट जिपिए ल्याउनेलाई नगद सहित सम्मान

हृदयराम गुप्ता 121+ समाचार ( )
२३ मंगशिर २०८०, शनिबार

मर्चवार न्युज

मर्चवार २२ मंसिर/रुपन्देहीको कोटहीमाई गाउँपालिकाले एसईई परीक्षामा उत्कृष्ट जिपिए ल्याउने विद्यार्थीहरुलाई रु. २५ हजार नगद सहित सम्मान गरेको छ । गाउँपालिकाले स्थापना गरेको ‘एसईई उत्कृष्ट जिपिए पुरस्कार’ अन्तरगत एसईई परीक्षा २०७९ मा सहभागी गाउँपालिका भित्रका सामुदायिक विद्यालयहरुका उत्कृष्ट जिपिए ल्याउने एकजना छात्र र एकजना छात्रालाई शुक्रबार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले सम्मान गरेका हुन् ।

परीक्षामा सहभागी छात्रहरु मध्ये कोटहीमाई ५ स्थित श्री मर्चवार आदर्श माध्यमिक विद्यालयका छात्र राजेश कुमार लोधले ३.२० जिपीए र छात्राहरु मध्ये कोटहीमाई ३ स्थित श्री मर्यादपुर माध्यमिक विद्यालयका की छात्रा सुमन यादवले ३.१० जिपिए ल्याई उत्कृष्ट जिपिए पुरस्कार हासिल गरेको कोटहीमाई गाउँपालिका शिक्षा शाखका प्र.स. मनोहर चौधरीले जानकारी दिएका छन् । उत्कृष्ट दुबै विद्यार्थीहरुलाई गाउँपालिकाले सम्मान स्वरुप २५–२५ हजार नगद तथा प्रशंसा पत्र दिएर सम्मान गरेको उनले बताए । उत्कृष्ट जिपिए ल्याएका छात्र तर्फ मर्चवार आदर्श माध्यमिक विद्यालय तथा छात्रा तर्फ श्री मर्यादपुर माध्यमिक विद्यालयलाई पनि सम्मान गरिएको थियो ।


सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै कोटहीमाई गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले युवा पढे मात्र समृद्ध गाउँपालिकाको अनुभुति हुने बताए । अहिलेको पिढिले राम्रो शिक्षा हासिल गर्न सके विभिन्न ब्यवसाय संचालन गर्ने, समाजका बिक्रितीहरु हटाउनमा सहयोग गर्ने, सार्बजनिक सम्पत्तीको संरक्षण साथै भ्रष्टाचार बिरुद्ध आवाज समेत उठाउने उनले बताए । गाउँपालिकाले लागु गरेको छात्राहरुलाई साइकल वितरण कार्यक्रमले विद्यालयहरुमा छात्राहरुको संख्या बढन थालेको उनले बताए । निजि विद्यालय भन्दा सामुदायिक विद्यालयमा शिक्षाको गुणस्तरीयता न्युन पाइएकोले छात्राहरुको प्रोत्साहनको लागि साइकल वितरण, समग्र विद्यार्थीहरुको प्रोत्साहनका लागि उत्कृष्ट जिपिए पुरस्कार लगायत विभिन्न योजना लागु गरेको अध्यक्ष त्रिपाठीले बताए ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार