मर्चवार न्युज भैरहवा, २ मंसिर । रुपन्देहीको ओमसतिया–१ स्थित ठुटीपीपलमा केन्द्रीय कार्यालय रहेको टुगा आस्था विकास बचत तथा ऋण सहकारी संस्थाको पाँचौ वार्षिक साधारण सभा एवम् दोश्रो निर्वाचन कार्यक्रमको स्वीकृत विनियमको दफा २९ बमोजिम तिन वटा एकाई बैठकहरु ओमसतिया, सियारी गा.पा., तिलोत्तमा र सिद्धार्थनगर न.पा. भूगोल क्षेत्रमा छुट्टाछुट्टै आयोजना गरि सम्पन्न भएको छ । कार्यक्रममा तिलोत्तमा–१३ र सिद्धार्थनगर नगरपालिका–८ मा आयोजना गरिएको एकाई बैठकको अध्यक्षता संस्था अध्यक्ष डी.बि. थापाको र प्रमुख आतिथ्यता क्रमशः वडाध्यक्ष नारायण ढकाल तथा का.वा. वडाध्यक्ष हरि प्रसाद आचार्यको रहेको थियो । ओमसतिया–१ ठुटिपिपल स्थित ओमसतिया र सियारी गा.पा. लक्षित एकाई बैठकको अध्यक्षता उपाध्यक्ष परसुराम बास्तोला एवम् प्रमुख आतिथ्यता संस्थाका वरिष्ठ सल्लाहकार भीमबहादुर पुनको रहेको थियो ।
कार्यक्रममा गत वर्षको कक्षा १२ को परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्ने ६ जना शेयर सदस्यका छोराछोरीहरुलाई प्रमाणपत्रसहित रु. १ हजार ५ सयका दरले संस्थाको शेयर प्रदान गरि शेयर सदस्यताको प्रमाणपत्र प्रदान गरिएको टुगा आस्थाले जनाएको छ । सम्मान हुने विद्यार्थीहरु प्रशान्त बास्तोला, सुबोध खड्का, बेनुमाया गुरुङ्ग, भावना जोशी, समीक्षा क्षेत्री र सुजन सराङकोटी रहेका छन् ।
बैठकमा प्रमुख अतिथिसहित प्रमुख सल्लाहकार ताराप्रसाद छन्तेल, लुम्बिनी प्रदेश सहकारी संघ लि.को संचालक प्रकाश भट्टराई, सि.न.पा.–८ वडा सदस्य थानेश्वर पाण्डेयले साधारण सभाको सफलताको लागि शुभकामना मन्तव्यका साथै टुगा सहकारीले सदस्य र समुदायमा पारेको प्रभाव र बिश्वास जितेको बिचार व्यक्त गरेका थिए ।
एकाई बैठकले ५४ जना प्रतिनिधि सदस्य र प्रति बैठक १६ जनाको दरले निर्णय प्रमाणित गर्ने प्रतिनिधि सदस्य चयन गरेको छ । आगामी मंगसिर ९ गते संस्थाको केन्द्रीय कार्यालयको सभाहलमा साधारण सभाको निर्णय प्रमाणित र नवनिर्वाचित पदाधिकारीको सपथ ग्रहण कार्यक्रमसहित पाँचौ वार्षिक साधारण सभा समापन गर्नेछ ।