लुम्बिनी १६ भदौ । संस्कृती, पर्यटन तथा नागरिक उड्डयानमंत्री बद्री प्रसाद पाण्डे बिरुद्ध लुम्बिनीमा नाराबाजी भएको छ । मंत्री पाण्डेले लुम्बिनीबासीलाइ बेवास्ता गरेको भन्दै स्थानीयले उनको राजीनामा माग गरेका छन् ।
लुम्बिनी बिकास कोषको अध्यक्ष समेत रहेका मंत्री पाण्डे बिकास कोषको परिषद बैठकमा भाग लिन लुम्बिनी पुगेका थिए । संस्कृति मंत्री पाण्डेलाइ लुम्बिनी बिकास कोषको बेथितिबारे जानकारी दिन तथा ज्ञापनपत्र बुझाउन समय माग गर्दा बेवास्था गरेको र कोषको अनियमिततालाइ ढाकछोप गर्ने प्रयास गरेको भन्दै स्थानीय लुम्बिनी बचाउ महाअभियानले उनको राजीनामा माग गरेको बताएको छ ।
संस्कृति मंत्री पाण्डे सहित बिकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामा, सदस्य सचिव सानुराजा शाक्य र प्रशासकीय प्रमुख ज्ञानिन राइ, समेतको राजीनामा माग गर्दै सयौंको संख्यामा बिरोधमा उत्रेपछि मात्र मंत्रीलाइ भेट्ने समय मिलाइएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए ।
मंत्री पाण्डेले परिषद बैठक रोकेर भेट्ने तथा ज्ञापन पत्र बुझ्ने समय मिलाएपछि मात्र अभियानले बिरोधका अन्य कार्यक्रम फिर्ता लिएको महाअभियानका संयोजक अकरामुद्दीन खाँले बताए । उनले भने, “शान्तिपूर्ण कुरा नसुनिदिने तथा आन्दोलित लुम्बिनीबासीका जायज मागलाइ बेवास्ता गरि कोषका दुइ÷चार जना पदाधिकारी÷कर्मचारीको कुरामा बहकिने मंत्री पाण्डे सो पदका लागि योग्य छैनन ।”
लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा.ल्यारक्याल लामाले मंत्रीको ब्यस्त समय तालिकाका कारणले स्थानीयलाइ समय दिन ढिलाइ हुन गएको बताए । उनले भने, “आफू पूर्ण निष्ठा र इमान्दारीका साथ लुम्बिनीलाइ बचाउन, बनाउन र गुरुयोजना पूरा गर्न लुम्बिनी आएको हो ।” लुम्बिनी बिकास कोष भित्रैबाट आफूलाइ असल काम गर्न असहयोग भइरहेको उनले बताए ।