मर्चवार, २६ असोज । रुपन्देहीको मर्चवार क्षेत्रमा दुर्गा मूर्ति बिसर्जन हुने स्थललाई व्यवस्थित र सुरक्षित बनाइएको छ । कोटहीमाई गाउँपालिकाले स्थानीय नेपाल प्रहरी तथा सशस्त्र प्रहरी बल र वडासँग समन्वय गरी मर्चवारको अधिकांश मुर्ति बिसर्जन हुने कोटहीमाई–५ दुईमोहानलाई सुरक्षित तरिकाले व्यवस्थापन गरी तयारी पुरा गरेको गाउँपालिका अध्यक्ष बालकृष्ण त्रिपाठीले बताए ।
मूर्ति बिसर्जन र विभिन्न किसिमको धार्मिक कार्यको लागि जल भर्ने क्रममा यसअघि नदीमा डुबेर मृत्युसँगै हुने विभिन्न घटनाहरुलाई मध्यनजर गरी सुरक्षा व्यवस्थापन गरिएको गाउँपालिका विपद् ब्यवस्थापन समितिका संयोजक समेत रहेका अध्यक्ष त्रिपाठीले बताए । उनले भने ,‘मुर्ति बिसजर्नमा आएका श्रद्धालुहरु कहाँसम्म जान पाउने, कुन क्षेत्रमा प्रवेश गर्न सक्ने, कुन ठाउँमा मुर्ति बिसर्जन गर्ने लगायतका विभिन्न जानकारीसहित घेराबन्दी गरिएको छ । कम पानी रहेको ठाउँमा स्वयंसेवक, प्रहरीको सहयोगमा कम जनशक्तिबाट मूर्ति बिसर्जनका लागि व्यवस्थापन गरिएको छ ।’ मूर्ति बिसर्जन गर्न मूर्ति लिएर पानीमा प्रवेश गर्नेलाई अनिवार्य रुपमा लाइफ ज्याकेट लगाउनुपर्ने व्यवस्थापन गरिएको गाउँपालिका अध्यक्ष त्रिपाठीले बताए ।
रुपन्देहीको तिनाउ र दानव नदीको संगमस्थल कोटहीमाई–५ दुईमोहानमा मर्चवारको कोटहीमाई, मर्चवारी र सम्मरीमाई गाउँपालिकाका १ सय भन्दा बढी मूर्ति बिसर्जन हुने अनुमान गरिएको ईलाका प्रहरी मझगावाँका प्रमुख प्रहरी निरीक्षक सन्तोष बस्यलाले जानकारी दिए । शुक्रबारदेखि सुरु गरिएको व्यवस्थापन कार्य शनिबार पूर्ण रुपमा सकिएको प्रहरी निरीक्षक बस्यालले जानकारी दिए ।
मुर्ति बिसर्जन गर्न जाँदा चर्को बाजा नबजाइ मर्यादित र सभ्य तरिकाले जान तथा मदिरा तथा नशालु पदार्थको सेवन गरी मुर्ती बिसर्जन गर्न नजान प्रहरी निरीक्षक बस्यालले आग्रह गरेका छन् । बिसर्जनका लागि मुर्ति आउने विभिन्न बाटो तथा चोकमा प्रहरी खटाइने जानकारी गराउँदै ¥यालीमा कुनै किसिमको हुलहुज्जत नगर्न उनले आग्रह गरेका छन् ।