आज बसन्त पञ्चमी (सरस्वती पुजा)

मर्चवार न्यूज 152+ समाचार ( )
२१ माघ २०८१, सोमबार

सरस्वती नः शुभगा मयस्करत्

सरस्वती मयादृष्टा वीणा पुस्तकधारीणी ।

हंशवाहन  संयुक्ता विद्या दान करोतुमे ।।

माघ शुक्ल पञ्चमी पर्ने सरस्वती पूजा जसलाई श्रीपञ्चमी अर्थात वसन्त पञ्चमीका नामले चिनिन्छ । यो पर्व वेदांग ज्योतिषकालमा वसन्तऋतु मधु (आर्तव चैत्रमास) मासमा मनाइन्थ्यो । पछि मात्र वार्हस्पत्यसंत्सरको निरयण माघ शुक्ल पञ्चमीमा मनाउन थालियो । जसलाई अँझै पनि वसन्त पञ्चमी भनिन्छ ।

वसन्त पञ्चमी हिन्दू धर्माबलम्बीहरूको पर्व हो । यस दिन विद्याकी देवी सरस्वतीलाई पूजा गरिन्छ ।ब्रह्माण्डका सर्जक ब्रह्माको मुखबाट उदय भएकी महासरस्वती सम्पूर्ण प्राणीहरूकी वाग्देवी अर्थात् वाणीकी देवी हुन्। राजहंस वाहन भएकी देवीका चार हातमध्ये एउटामा वीणा, एउटामा स्फटिकको माला, अर्कोमा पुस्तक र अभय मुद्रा रहेका छन्। सेतो वस्त्रले सजिएकी हरदम मुस्कुराइरहन्छिन् र सम्पूर्ण मानवजातिलाई मन्द मुस्कानका लागि प्रेरित गर्छिन्। भारती, सरस्वती, शारदा, जगत्माता, वागीश्वरी, कौमारी, वरदायिनी, कामधेनु आदि हजारौँ नाम भएकी देवीको ’सरस्वती कवच’ को मन्त्रबाट व्यास, वाल्मीकि, याज्ञावल्क्य, कणाद, पाणिनी आदिदेखि शङ्कराचार्य र सन्त तुलसीदाससम्मले सिद्धि प्राप्त गरे। आवश्यकता अनुरूप संहारका बेला महाकाली रूप धारण गर्ने र जीवदेखि जगत् सम्मको सञ्चालनमा महालक्ष्मी रूप धारण गर्ने देवी सिर्जनाका बखत महासरस्वतीको रूपमा सर्वत्र विराजमान हुन्छिन्।

स्वर, सङ्गीत, ताल, लयकी श्रोत स रे ग म प ध नि देखि नृत्यकला, कार्यकुशलता, ज्ञानको भण्डार, वास्तुकला, शिल्पी, प्रविधि, हातको सीप, वाणीको माधुर्य, गला र कलाको आकर्षणको केन्द्र र निरन्तर साधनाबाट साध्य प्राप्तिमा प्रेरित गर्ने सरस्वतीका विभिन्न साधना र पूजाका विधान छन्। बौद्धधर्मीहरूले उनैलाई मञ्जुश्री का नामले चिन्दछन् भने उनका विभिन्न स्वरूपका चिन्तन गर्दै बालबालिका अक्षरम्भ गर्छन् भने बुद्धिजीवीहरू विशेषज्ञता प्राप्त गर्ने प्रयास गर्छन्। वाहन राजहंसले दूध र पानीलाई सहजै छुट्याउन सके झैँ ठीक वा बेठिकको सही पहिचानको ज्ञान, बुद्धि, संयम र विवेक प्रदायिनी देवी सरस्वतीको कृपा प्रसादबाटै मानव मस्तिष्कको अथाह ज्ञान प्रयोग गर्दै आजको संसार विज्ञानमय बनेको छ र सर्वसुलभ सुविधा प्राप्त गरेको छ। संस्कार, सभ्यता र संस्कृतिकी श्रोत महादेवी सरस्वती जयन्तीका दिन नाक, कान, छेड्ने देखि अन्य उद्यमशीलताका कार्यहरू आरम्भ गर्दा कुनै साइत जुराउनु पर्दैन भन्ने भनाई छ । विद्यार्थीहरू घरै बसेर पनि सरस्वती साधना गर्छन् भने विद्यालय, महाविद्यालय वा आफ्ना पराक्रम स्थलहरूमा वा मन्दिर विशेषमा उनको उपासना गर्ने गर्छन्। धातु या मूर्तिमा वा प्रतिमा या उनका चित्र अङ्कित फोटोहरू सजाएर आफ्नो साधनालाई निरन्तरता दिने सन्दर्भमा साधकहरू देवीलाई मनपर्ने दही, दूध, घ्यू, मह, चिनी, नैवेद्यहरू, फलफूल, मिठाई, कपुर, वस्त्र, भेटी, चन्दन, अगरु, बेल, मूला, लड्डु नरिवल आदि अर्पण गर्ने गर्छन्। उत्साह, लगनशीलता र अथक प्रयासलाई नै सफलताको प्रेरक मान्ने देवी विद्याकी खानी नै हुन्। सबैभन्दा उत्तम धन भनेको विद्या नै हो जसका धेरै प्रकार छन्। जसमध्ये चार वेद, चार उपवेद, सयौँ वेदाङ्गहरू, शिक्षा, कल्प, व्याकरण, निरुक्त, छन्द, ज्योतिष, मीमांसा, न्याय, धर्मशास्त्र, अठार पुराण, अठार उपपुराण, पञ्चमवेद, महाभारत, आयुर्वेद, धनुर्वेद, गान्धर्व वेद, स्थापत्यवेद (वास्तुशास्त्र) र अर्थशास्त्र प्रमुख छन्। विद्या प्रकाश हो, अविद्या अँध्यारो, अज्ञानताको पर्दा नउघारी भक्तिको उदय सम्भव हुन्न, भक्तिमा ज्ञान र वैराग्यको क्षमता हुन्छ। भक्ति र शक्तिको सङ्गम भए विद्या विज्ञान बन्न पुग्छ ।श्रीपञ्चमीका दिन कामदेव र रतीको पनि पूजा गरिन्छ। वसन्तका प्रतीक कामदेव र उनकी स्त्री रतीको विशेष स्मरण गर्ने दिन वसन्तको आगमन उत्सव वसन्त राग गाउने पनि चलन रहेको छ। ।काव्यविनोदी, स्रष्टा, सर्जक, साहित्य, कलाका साधकहरूका लागि वसन्त राग साधनाको श्रोत नै हो। कला र गलाका पारखीहरूका लागि सरस्वती साधना गर्ने प्रमुख दिन श्रीपञ्चमी वा वसन्तपञ्चमीलाई मानिन्छ। नेपालका प्रत्येक विद्यालयहरुमा विहानै देखि विद्यार्थीहरु नुहाई सफा सुग्घर कपडा लगाई आ –आफ्नो विद्यालयमा आफूलाई राम्रो विद्या र ज्ञान मिलोस भनि पूजा र ध्यान गर्ने गर्दछन् । सरस्वतीका प्रसिद्ध पीठहरू मध्ये काठमाडौं उपत्यकामा जय वागीश्वरी, स्वयम्भूमा मञ्जुश्री, हाँडीगाउँ, बल्खु, गैह्रीधारा, भक्तपुर जिल्लाको थाकलमाठको सरस्वती मन्दिर र हनुमानघाटको नीलसरस्वती ललितपुरको लेलेस्थित सरस्वती मन्दिरहरूमा सरस्वती जयन्तीका दिन विशेष भीड लाग्ने गर्दछ। तराई क्षेत्रमा माटाका सरस्वती मूर्ति बनाई पूजा गर्ने चलन छ। मूर्तिमा प्राण प्रतिष्ठा गरी धूमधाम पूजा र बाजागाजा गरी जलाशयमा बिसर्जन गर्ने चलन पनि देखिन्छ।

प्रतिक्रिया

सम्बन्धित समाचार