मर्चवार । रुपन्देहीको मर्चवार क्षेत्रमा विभिन्न प्रकारका अपराधिक घटनाहरू बढ्दो क्रममा छन् । इलाका प्रहरी कार्यालय मर्चवारको तथ्यांक अनुसार, यहाँ विगत १० वर्षमा अपराधका ५ सय ६६ वटा मुद्दा दर्ता भएका छन् ।
इलाका प्रहरी कार्यालय मर्चवारका प्रहरी निरीक्षक घनदेव साउदका अनुसार, मर्चवार क्षेत्रमा आत्महत्या र जबरजस्ती करणीका घटनाहरू बढ्दो क्रममा छन, भने त्यस क्षेत्रमा संगठित अपराध पनि मौलाउने क्रममा छ ।
प्र.नि.साउदले भने, “आ.व. २०७०÷०७१ देखि २०८०÷०८१ सम्मको तथ्याङ्क हेर्दा अपराधिक घटनाको संख्या वर्षै पिच्छे बढ्दो छ । यी १० वर्षमा ४५ वटा जबरजस्ती करणी, १२ वटा जबरजस्ती करणी उद्योग ४ वटा बाल यौन दुरुपयोग र १ वटा बालबालिका बिरुद्धको अपराध मुद्दा दर्ता भएको तथ्याकं छ ।”
प्रहरी तथ्याकं अनुसार, १ सय ९ जनाले झुण्डेर, ४ जनाले आगो लगाइ र ४३ जनाले विष खाई आत्महत्या गरेका छन् । त्यसैगरि लागू औषधमा २३, अपहरण शरीर बनधकमा ७, ज्यान सम्बन्धि कसुरमा २९, चोरीका १५, कुटपिट अंगभंगमा १४, सार्बजनिक अपराध र अभद्र ब्यवहारमा ६० वटा मुद्दा दर्ता छन ।
प्रहरी निरीक्षक साउदले थप जानकारी दिंदै भने, “मुद्दा दर्ता भएका घटना बाहेक यहाँ दैनिक ५–६ वटा झै–झगडा, कुटपिट, लेनदेन, घरेलु हिंसा र जग्गा विवादका मुद्दाहरू पनि आउने गर्दछन् ।” उनले भने, “राजनैतिक प्तिशोध, ईष्र्या भावना, चेतनाको कमी र कानुनी ज्ञानको अभावले यस्ता घटनालाई बढावा दिइरहेका देखिन्छन ।”
मधेश मानव अधिकारगृह (माहुरी होम)का रूपन्देही जिल्ला संयोजक रामविकास चौधरीले बेरोजगारी तथा आर्थिक कमजोरीलाई आत्महत्याको मुख्य कारण बताए । उनले भने, “युवा पुस्तामा विलासी जीवनको आकर्षणलेगर्दा धनको चाहना स्वरूप मानसिक स्वास्थ्यमा नकारात्मक प्रभाव पारिरहेको देखिन्छ ।”
चौधरीका अनुसार, “बेरोजगारीले व्यक्तिलाई आर्थिक दबाबमा पार्दछ र आत्महत्या लगायतका अपराधिक क्रियाकलापमा संलग्न हुन प्रेरित गर्छ, त्यसैले सामाजिक बिभेद तथा धनी र गरिब बीचको विभाजनले मानिसमा आर्थिक तथा सामाजिक तनाव र प्रतिस्पर्धा पैदागर्दै अपराधमा पनि बृद्धि गर्ने गरेको देखिन्छ ।”
चौधरीले भने, “घरेलु हिंसा र पारिवारिक कलहले मानसिक तनावमा रहेका व्यक्तिलाई अपराधमा उतार्न सक्छ । मनोवैज्ञानिक समस्याले व्यक्तिलाई असामान्य व्यवहारका लागी प्रेरित गर्छ ।“ फितलो कानुनी ब्यवस्था, सामाजिक सहयोगमा कमी र अपराध गर्ने स्रोत तथा अवसरहरूको सजिलो उपलब्धता र राजनैतिक संरक्षण तथा भ्रष्टाचारले गर्दा बिभिन्न अपराधिक घटनाहरूमा बृद्धि भइरहेको उहाँले बताए ।
त्यसैगरि मर्चवारी गाउँपालिका अध्यक्ष गया प्रसाद बरईले, लागू पदार्थ दुर्ब्यवसन र समाजिक संजालको दुरुपयोगका कारण आपराधिक घटनामा वृद्धि भइरहेको बताए । उनले युगान्तरकारी प्रेम सम्बन्धको प्रभावले पनि युवालाइ आत्महत्या गर्न प्रेरित गरिरहेको बताए । उनले भने, “मर्चवार मात्र होइन, समग्र देशमा बढ्दो क्रममा रहेका यस्ता घटनाहरूले गम्भीर चिन्ता उब्जाएको छ, समाधानको उपाय तत्काल आवश्यक छ ।”